नेपाल बैंक लिमिटेड बागलुङद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

- ‘ग्लोबल मनि विक’ अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

-


     हिडन खबर    
     चैत्र ८ गते २०७९ मा प्रकाशित


नेपाल बैंक लिमिटेडद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बैंक बागलुङ शाखाको आयोजनामा जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर-६ बिहुको भिमसेन माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ विश्वभर मार्च २० देखि २६ सम्म मनाउन लागिएको ‘ग्लोबल मनि विक’ नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले बताउनुभयो ।

विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सेवाको भनाइ रहेको छ ।

नेपाल बैंक लिमिडेट बागलुङ शाखाका प्रबन्धक अमृत सेवाद्वारा सहभागी विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

नेपाल बैंकका गतिविधि, सञ्चालनमा रहेका बैंकिङ सेवा सुविधा र तिनको प्रयोग, धनको सुरक्षा र उपयोगका लागि सबैले बैंकिङ कारोबारमा जोडिनुपर्ने लगायतको बारेमा सहभागीलाई जानकारी गराइएको थियो । प्रविधिको विस्तारसँगै बैंकिङ सेवाहरू डिजिटल माध्यमबाट प्रवाह हुन थालेकाले यसको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा सहभागिलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा १०० जना भन्दा बढि विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रम नेपाल बैंक लिमिटेड बाग्लुङ शाखाका प्रबन्धक अमृत सेवाको अध्यक्षता, भिमसेन माविका प्र.अ. रघुनाथ कंडेलको प्रमुख आतिथ्यता, सहायक प्रबन्धक उत्सवराज पन्तको स्वागत र प्रदिप पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।